कलाले ज्ञानको दायरा बढाउँछ : डा.व्यास

दक्षिण एसियाली कलामा पूर्वीय मान्यता हावी : प्रा. अग्रवाल

काठमाडौं । ‘कलाले ज्ञानको दायरालाई फराकिलो बनाउन मद्दत गर्दछ । जीवन र जगतप्रतिको गहिराई बुझ्न पनि कलाले अहं भूमिका खेल्दछ,’ भारतका प्रसिद्ध कला समीक्षक डा. राजेश कुमार व्यासले भने । नेपाल आर्ट काउन्सिलमा भएको कलाको एक अन्तर्क्रिया कार्यक्रममा डा. व्यासले कलाले मानिसलाई गम्भीर र सौन्दर्यबोधप्रति सचेत बनाउने बताए । कला समीक्षा विषयमा चर्चा गर्दै डा. व्यासले भने, ‘पत्रकारिता गर्नु सूचना संप्रेषण गर्नु हो भने कला पत्रकारिता गर्नु भनेको ज्ञानको दायरालाई फराकिलो बनाउनु हो ।’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला पत्रकार समाजको आयोजनामा बुधबार भएको कला लेखन तथा समीक्षासम्बन्धी विषयमा डा. व्यासले कलाले समाजलाई समृद्ध बनाउने धारणा राखे । समाज विकासको आफ्नै लय हुन्छ, त्यसमा इतिहास, मौलिकता, परम्परागत ज्ञान र प्रविधिको महत्वपूर्ण भूमिका हुने उनले तर्क गरे । समाजका सांस्कृतिक अवयवलाई गहनतम ढंगले बुझ्ने कोसिस हुन सकेमा मानिसले आफ्नोपनलाई अनुभूत गर्न सक्ने बताउँदै डा. व्यासले भने, ‘समाजमा कलाको महत्व र महिमा निकै कम गतिमा सञ्चार हुन्छ । पत्रकार तथा समीक्षकले आमपाठकमा कलाप्रतिको गतिलाई बढाउने काम गर्नुपर्दछ ।’ डा. व्यासको चिन्तन पनि आफ्नोपनलाई बाहिर निकाल्नु रहेको छ । उनले आधुनिकका नाममा भाषामाथि भइरहेको औपनिवेशिक सोचलाई छोडेर आफ्नो मौलिक भाषामा लेखक, कलाकार या समीक्षकले काम गर्न सके त्यसले समाजमा दीर्घकालीन प्रभाव पार्ने धारणा राखे । उनले भारत लामो समय अंग्रेजको उपनिवेश रहेको बताउँदै औपनिवेशिक समयमा अंग्रेजले भारतमा थोपरेको सांस्कृतिक मूल्यले भारतको आफ्नो पहिचान बिस्तारै हराउँदै जान थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘यसमा कलाकारले पनि आफ्नोपन र मौलिकतालाई बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।’ ‘कला लेखन भनेको आफैंलाई समृद्ध पार्नु हो, जीवनको सुरूवातदेखि अन्तसम्म कलाले मानिसलाई डो¥याइरहेको हुन्छ । मात्र त्यसलाई हेर्ने दृष्टिकोण बनाउनुपर्छ,’ व्यासले एकघन्टे अन्तरक्रियात्मक कार्यक्रममा भने । साथै उनले कला पत्रकारिता र समीक्षा फरक पाटो रहेको बताउँदै पत्रकारितासँगै समीक्षा गर्न सके त्यसले कला विधा मात्र होइन, लेख्ने व्यक्तिको व्यक्तित्वलाई समेतमाथि उठाउने बताए । भारतीय कला समीक्षक, कवि एवं सांस्कृतिक चिन्तक डा. व्यासले साढे दुई दशकदेखि निरन्तर कला समीक्षा गर्दै आएका छन् । त्यस्तै कार्यक्रममा भारतीय प्रसिद्ध कलाकार प्रा. जयकृष्ण अग्रवालले दक्षिण एसियाली कलामा पूर्वीय दृष्टिकोणका बारेमा कार्यपत्र नै प्रस्तुत गरे । उनले नेपाल र भारतका कलाकारका कलाका विषय प्राय समान रहेको जनाए । उनले भने, ‘यी दुई देशका कलाकारले सिर्जना गरेका कलाका मूल प्रवृत्तिको पृष्ठभूमि पूर्वीय दर्शन र संस्कृति नै हो ।’ उनले दुई देशबीच कला संस्कृतिमा थुप्रै समानता रहेको भन्दै नेपालले विनासकारी भूकम्पका कारण निकै धेरै नोक्सानी र दुःख भोगेको बताए । उनले भने, ‘भूकम्पपछि यहाँका हरेक क्षेत्रलाई नेपालीले आफ्नै सुरमा अगाडि बढाइरहेका छन् । यसबाट यहाँको कला क्षेत्र पनि अछुतो छैन र कलाकारले आफ्नै प्रयासबाट नेपाली कलालाई माथि उठाइरहेको परिदृश्य निकै रोचक र सराहनीय कार्य हो ।’ उनले नेपाल तथा भारतका कलामा पूर्वीय दृष्टिकोणको प्रभाव गहन रुपमा परेको बताए । धार्मिक, सामाजिक, तथा सांस्कृतिक रुपमा पनि नेपाली र भारतीय कलाका कतिपय आधारभूत कुरा समान रहेको उनले जनाए । त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपाली ललितकला पत्रकारिताले बिस्तारै फड्को मारिरहेको बताउँदै भनिन्, ‘ललितकला विषयमा पत्रकारिता गरिरहेका पत्रकारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुन्छन् ।’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले कलाका विविध आयाम र परिवेशलाई नजिकबाट नियाल्न सजिलो हुन्छ ।’ कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले कला पत्रकार, कलाकारका लागि समय–समयमा अनुभवी कलाकार, समीक्षकका अनुभव सुन्ने मौका मिल्दा पनि लेखनमा सहयोगी हुने विचार व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here