ललितकलालाई प्रदेशमा विस्तार गरिनुपर्दछः गोपाल कलाप्रेमी

काठमाडौं । नेपाली ललितकला क्षेत्रको विकासका लागि प्रादेशिक रुपमा संरचना बनाउन सरकारले पहल गर्नुपर्ने विराटनगरवासी अग्रज कलाकार गोपाल कलाप्रेमीले बताएका छन् । शुक्रबार कलाप्रेमीसँग नेपाल ललितकला पत्रकार समाजले ‘कलाका कुरा’ को २१औं शृंखलामा कलाप्रेमीले समाजको ऐना कलामा देखिने हुँदा कलाकारलाई राज्यले उचित अवसर दिनुपर्ने धारणा राखे । नेपाली कलालाई देशव्यापी बनाउन राजधानीबाहेकका प्रमुख सहरमा कलाका विभिन्न संरचना निर्माण गर्नुपर्नेमा उनले जोड दिए । कला ग्यालरी, शैक्षिक संस्था, प्रतिष्ठानका संरचना बनाउनुपर्ने उनले जोड दिए । उनले भने, ‘कलाको विकासका लागि आमनागरिकलाई सहभागी बनाउनका लागि समेत कलाका गतिविधि मोफसलमा बढाउनुपर्दछ ।’ मोफसलमा कलालाई विस्तार गर्न राज्यले आवश्यक पहल लिन जरुरी रहेको बताउँदै कलाप्रेमी भने, ‘समाजलाई सचेत र जागरुक बनाउन कलाको भूमिका अहम् हुन्छ । यसमा सबै नागरिक तथा राज्यले उचित ध्यान दिनुपर्दछ ।’ उनले मोफसलमा कलाका गोष्ठी तथा गतिविधि निकै कक हुने गरेको गुनासो गरे । साथै उनले कलाका सामग्री समेत भनेजस्तो र सहजै ढंगले मोफसलमा नपाइने दुखेसो पोखे । उनले भने, ‘मोफसलमा आर्टका एक्टिभिटी कम भएर पनि यस्तो भएको होला ।’ कलाकार जागरुक भएर अगाडि आउनुपर्नेमा जोड दिँदै कलाप्रेमीले भने, ‘कलाकार एकजुट भएर नियमित रुपमा प्रयास गरिराख्नु पर्दछ । राज्यलाई झक्झकाउने काम गरिएन भने चासो कमै पर्ने भएकाले कला क्षेत्र झनै पछाडि पर्ने संभावना हुन्छ ।’ अरुपण आर्ट ग्यालरीमा आयोजित कार्यक्रम समाजले हरेक महिनाको दोश्रो शुक्रबार आयोजना गर्दै आइरहेको छ । मोफसलमा कलाप्रतिको सामाजिक तथा सांस्कृतिक दृष्टिकोण केलाउँदै कलाप्रेमीले नेपाली कलामा निकै काम गर्नु बाँकी रहेको धारणा राखे । उनले आफ्नो जीवनमा कलाका कारण आएको उत्तारचढावबारे कलापत्रकार, कलाकार र कलानुरागी समक्ष भावुक रुपमा धारणा राखे । २०२२ सालमा गठन भएको नेपाल ललितकला संस्था (नाफा) को पूर्वाञ्चल शाखा संचालन गर्नेदेखि २०३७ सालमा खोलिएको ललितकला संगमले नेपालको पूर्वी भेगमा कलाको विकासमा खेलेको भूमिकाका बारेमा उनले चर्चा गरे । २०३४ सालमा नाफालाई प्रज्ञा प्रतिष्ठानमा विलय गराएपछि नेपाली कला क्षेत्रमा त्यसले निकै नकारात्मक प्रभाव पारेको जनाउँदै कलाप्रेमीले पूर्वी भेगमा कलाका गतिविधिलाई दुखसुखका साथ निममित गरेको बताए । विराटनगर, धरान तथा पूर्वी भेगमा साहित्यकार र कला अनुरागीको सहकार्यमा कलाको विविध गतिविधिलाई निरन्तरता दिइरहेको भए पनि पछिल्लो चरणमा आएर त्यसले जुन गतिमा अगाडि बढेनुपर्ने हो त्यो हुन नसकेको उनले बताए । कलाप्रेमीले सुरुका दिनमा दृश्यचित्र, मुहारचित्र तथा यथार्थपरक कला बनाएको र काठमाडौंमा २०२२ सालमा गेहेन्द्रमान अमात्यलाई भेटेपछि आधुनिक कलातिर मोडिएको बताए । हुनत उनले २०२० सालमै प्रसिद्ध कलाकार लैनसिंह बाङ्देलसँग पनि कलाका विविध आयाम र परिवेशका बारेमा जान्ने अवसर पाएको बताए । त्यस्तै इन्द्र प्रधान लगायतका कलाकारको संगतले आफुलाई कलाक्षेत्रमा अगाडि बढ्न उत्प्रेरणा मिलेको उनले बताए । नाफाको सल्लाहकारको भूमिका समेत निर्वाह गरिसकेका कलाकार कलाप्रेमीले आमजनतामा जबसम्म कलाको चेतना पैदा हुँदैन तबसम्म व्यवसायिक रुपमा कला अगाडि बढ्न नसक्ने धारणा राखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here