काउन्सिलमा नेपाल र कोरियाका कलाकार

काठमाडौं । नेपाल र कोरियका करिब तीन दर्जन बढी कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । संस्कृति आदानप्रदान गर्ने उद्देश्य राखेर दुवै देशका १९–१९ जना कलाकारका कला प्रदर्शनीमा राखिएको हो । नेपाल आर्ट काउन्सिलमा शनिबारबाट सुरू भएको प्रदर्शनी ‘इन्टररिफ्लेक्सन’को उद्घाटन संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले एक समारोहका बीच गरेका छन् । नेपाल नयाँ युगमा प्रवेश गरेको जनाउँदै जोशीले भने, ‘हाम्रो मुलुक परिवर्तनको नयाँ चोलामा प्रवेश गर्दैछ । यसलाई संस्थागत गर्न र विश्वका सामू हाम्रो नयाँ रुप उजागर गर्न पुरानो मित्र दक्षिण कोरियाले सघाओस् भनेर अपेक्षा गरेका छौं ।’ नेपाली कलाले विश्वमा प्रभाव जमाउँदै गएको कलाकार तथा कला लेखक मदन चित्रकारले बताए । उनले भने, ‘नेपाली कलाकारले समसामयिक सन्दर्भलाई सटिक र आकर्षक रुपमा प्रस्तुत गर्न सफल भएका छन् ।’ ‘काठमाडौं रहँदा कला प्रदर्शनी र सेमिनारको पनि आयोजना गर्दैछौं,’ कोरियाली प्राध्यापक इम गुन उ ले भने । यसले अन्तर्राष्ट्रिय नेटवर्क विकास गर्न सघाउने उनले बताए । प्रदर्शनीमा शशी शाह, मदन चित्रकार, वीरेन्द्रप्रताप सिंह, गोविन्द डंगोल, जीवन राजोपाध्याय, देवेन्द्र थुम्केली, मुकेश श्रेष्ठ, बरुण पोखरेल, प्रविण श्रेष्ठ, प्रदीप अधिकारी, भूफान लिम्बू, विक्कुकुमार थापा, मन गुरुङ, मुना भँडेल, नरबहादुर विक, नेमबहादुर तामाङ, पाकबहादुर थापा, प्रभात श्रेष्ठ र उमेश साहका चित्र राखिएको छ । त्यसैगरी, कोरियाबाट प्राध्यापक इम गुन उ, ली जे साङ्, किम उन क्यू, ली क्वान उ, छो सङ यङ, ए रियोङ लगायतका चित्र राखिएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here